घरेलु उपकरण विशेष

डिस वाशर खरिद गाइड

  नागरिक   2018-05-18

खाना पकाएको र खाएको भाँडा धुनु पनि दैनिक र झन्झटिलो कार्य हो । यहि नित्य कार्यलाई सहज बनाउन तपाईले भाँडा धुने मेसिन अर्थात् डिस वाशर खरिद गर्न सक्नुहुन्छ। दैनिक व्यस्तता बढिरहेको कारणले गर्दा डिस वाशरको प्रयोग निकै बढेको छ। डिस वाशरले खाना बनाउन देखि खाना खानसम्मका लागि प्रयोग हुने भाँडाको थोरै समयमा राम्रोसंग सफाई गर्छ । तपाई पनि डिस वाशर खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईलाई यस खरिद गाइड सहयोग पुर्याउने छ।

डिस वाशरको किसिम र क्षमता

डिस वाशरको क्षमतालाई प्लेस सेटिंगमा मापन गरिन्छ । एक प्लेस सेटिंग भन्नाले भाँडाको सेटलाई बुझिन्छ जसमा एउटा ठूलो भोजन प्लेट, एउटा सानो प्लेट, एउटा कचौरा, एउटा ग्लास, एउटा कप, दुई वटा चम्चा, एउटा पनियो र एउटा मध्यम आकारको कचौरा समावेश गरिएको हुन्छ । जति धेरै प्लेस सेटिंग, त्यति नै धेरै उक्त डिस वाशरको क्षमता हुन्छ।डिस वाशरका मुख्य तीन प्रकार हरु रहेका छन् :

१. फुल साइज

फुल साइज डिस वाशर सबैभन्दा धेरै प्रयोग हुने डिस वाशर हो । फुल साइज भनिए पनि यसको चौडाई ६० सेमी हुन्छ जसले गर्दा यसलाई धेरैको भान्सा कोठामा सजिलै जडान र स्थापना गर्न सकिन्छ । यस प्रकारको डिस वाशरको सामान्यतया १२ देखि १५ वटा प्लेस सेटिंग क्षमता हुन्छ । यसर्थ, यस्तो डिस वाशरले एक पटकमा १७०+ सम्म पनि भाँडाहरु सफा गर्न सक्छ । साना व्यवसाय र ठूला परिवारका लागि प्रयोग गर्न उचित हुने यस किसिमको डिस वाशर अन्यको तुलनामा केहि महँगो हुन्छ ।

२. स्लिम

यस प्रकारको डिस वाशर सानो भान्सा भएका, सानो परिवार भएका र डेरामा बस्नेहरुका लागि उचित हुन्छ। यस प्रकारको डिस वाशर फुल साइजको तुलनामा साना (चौडाइ लगभग ४५ सेमी) हुन्छ जसले गर्दा यसलाई साना भान्सा कोठामा सजिलै जडान र स्थापना गर्न सकिन्छ। यस प्रकारको डिस वाशरको सामान्यतया १० वटा प्लेस सेटिंग क्षमता हुन्छ। यसर्थ, यस्तो डिस वाशरले एक पटकमा ११० वटा जति भाँडाहरु एकै पटकमा धुन मिल्छ। साना परिवारका लागि उचित हुने यस डिसवाशर थोरै बजेटमा भएकाहरुकोलागि राम्रो बिकल्प हो।  

३. इन्टेग्रेटेड

इन्टेग्रेटेड डिस वाशरलाई भान्सा कोठामा नै स्थायी रुपले जडान गरिन्छ । फुल साइज कि स्लिम डिस वाशरलाई नै यसको लागि प्रयोग गरिन्छ। मोडर्न र मिनिमल डिजाइनको भान्सा कोठा चाहनेहरुका लागि यो सबैभन्दा राम्रो डिस वाशरको किसिम हो। यसले भान्सा कोठालाई आकर्षक देखाउन सहयोग पुर्याउछ तर यिनीहरु स्थायी हुने भएकाले एक स्थानबाट अर्को स्थानमा लैजान अफ्ट्यारो पर्छ र स्थापना गर्नु अगाडी नै डिजाइन र क्षमताको सन्दर्भमा निर्णय गर्नुपर्छ।

 

डिस वाशरको फाइदाहरु

  • समयको बचत

अत्यधिक मानिसहरुलाई डिस वाशर खरिद गर्नुको मुख्य कारण नै समयको बचत हुनेछ। आधा घण्टासम्म समय लाग्न सक्ने भाँडा धुनलाई डिस वाशरलाई केहि मिनट मात्र लाग्छ। यसले सरदरमा वर्षको २००+ घण्टा समय बचत गर्छ। अति व्यस्त रहनेहरुका लागि डिस वाशर एक साह्रै महत्वपूर्ण घरेलु उपकरण हो ।

  • पानीको बचत

घरमा प्रयोग हुने कुल पानीको केवल ३-४ % पानी मात्र डिस वाशरको प्रयोगमा खर्च हुन्छ। एक पटकको धुलाईमा साधारण डिस वाशरलाई २२ लिटरसम्म पानी लाग्न सक्छ। तर, इनर्जी स्टार भएको डिस वाशरले चाहिँ १५ लिटरमात्र पानीको खपत गर्छ – जुन हातले धुनुको तुलनामा निकै थोरै हो ।

  • उचित सरसफाई

डिस वाशरले सफा गरेको भाँडाहरु हातले सफा गरेको तुलनामा सफा हुन्छ। डिस वाशरले भाँडा धुने समयमा पानीलाई १३० डिग्री फहरेन्हाइटसम्म तातो बनाउछ जसले गर्दा भाँडाको चिल्लोपना र फोहर सजिलै सफा हुन्छ – हातले नै यति धेरै तापक्रममा भाँडा धुन सम्भव छैन।

  • सुरक्षित

काँचको र धार भएको भाँडा धुने समयमा हात काटिने जोखिम हुन्छ। तर यो सबै कुराको चिन्ता डिस वाशरमा भने लिनु पर्दैन। भाँडाहरु धुने क्रममा फुट्ने र बिग्रने डर पनि हुदैन।

  • ड्राएर

डिस वाशरले भाँडा धोएपछि भाँडालाई सुकाउने काम पनि गर्छ। पानीले भिजेकै बेलामा भण्डार गरिएको भाँडामा जीवाणुहरु पैदा हुने भएकाले सधै भाँडा धोएपछि सुकाउनु पर्छ र यहि काम डिस वाशरले सजिलै गर्न गरिदिन्छ ।

 

नेपाली बजारमा डिस वाशर

नेपाली बजारमा स्लिम, फुल साइज र इन्टेग्रेटेड गरेर तिनै प्रकारका डिस वाशरहरु पाइन्छन् । बेको र एल जीले प्रदान गर्दै आएको डिस वाशरको मूल्यहरु यस प्रकार रहेको छ :

मोडल क्षमता  पानी खपत मूल्य*

 

बेको DFN05211W 

 

१२ प्लेस सेटिंग, ६० सेमी चौडाइ  

 

१४ लिटर

 

लगभग ६० हजार

 

बेको DFS2531

 

१० प्लेस सेटिंग, ४५ सेमी चौडाइ  

 

१३ लिटर

 

लगभग ५४ हजार

 

एल जी ट्रु स्टिम

 

१४ प्लेस सेटिंग, ६० सेमी चौडाइ  

 

९ लिटर

 

लगभग १ लाख १० हजार

 

IFB नेप्ट्युन VX

 

१२ प्लेस सेटिंग, ६० सेमी चौडाइ  

 

९ लिटर

 

लगभग ७० हजार

*मूल्यहरु daraz.com.np बाट साभार गरिएका हुन् 

 

डिस वाशर खरिद गर्दा ख्याल गर्नुपर्ने कुराहरु

धुलाइको साइकल:

धेरै जसो डिस वाशरमा ३ प्रकारको धुलाइ गर्न मिल्ने सुविधा प्रदान गरिएको हुन्छ – द्रुत, सामान्य र भारी । द्रुत अर्थात् क्विक वाश थोरै फोहर भएका भाँडाको सफाइ गर्न प्रयोग गरिन्छ । सामान्य वाश (नोर्मल ) पुरै लोड भएको बेलामा र साधारण फोहर भएको भाँडाहरुका लागि प्रयोग गरिन्छ । भारि अर्थात् हेभी वाश धेरै फोहर भएको, धेरै चिल्लो भएको र ठूला भाँडाहरुका लागि प्रयोग गरिन्छ ।

यस लगायत अटोमेटिक वाश र लाइट वाश भएका डिस वाशर पनि भेटिन्छन् । अटोमेटिक मोड चयन गरेको बेलामा डिस वाशरले आफै उचित धुलाइ गर्छ। लाइट वाश भने माटो र सिसाको कमजोर भाँडाको धुलाइमा प्रयोग गरिन्छ । डिस वाशर खरिद गर्दा त्यसमा कति वटा धुलाइको साइकल छ भन्ने कुरा बुझी खरिद गर्नु उचित हुन्छ ।

टब कुन धातुले बनेको छ?

धेरै जसो बजेट डिस वाशरहरुमा प्लास्टिकको टब प्रयोग गरिएको हुन्छ । महंगा डिस वाशरहरुमा भने खिया नलाग्ने स्टिलको प्रयोग गरिएको हुन्छ । टबमा स्टिल प्रयोग गरिएको डिस वाशरहरु प्लास्टिकको तुलनामा टिकाउ र उर्जा खपतमा कुशल हुन्छन तर टबले डिस वाशरले गर्ने धुलाइको गुणस्तरमा केहि असर गर्दैन ।

डिस वाशरको उर्जा खपत

प्रयोगको समयमा साधारण डिस वाशरको उर्जा खपत लगभग १५०० Wh (वाट प्रति घण्टा) हुन्छ भने इनर्जी स्टार भएकाको चाहिँ लगभग ८०० Wh मात्र हुन्छ । प्रति युनिट नेरु ८.६ को हिसाब लगाउदा, डिस वाशरको एक घण्टाको प्रयोगबाट एक पटकमा नेरु १३ देखि नेरु २५ सम्म महसुल उठ्न सक्छ । यहि दरमा एक महिनासम्म प्रयोग गरेमा मासिक नेरु ४०० देखि नेरु ७५० सम्मको थप महसुल भार यस उपकरणले प्रदान गर्ने देखिन्छ । पानी र उर्जा दुवैको सहि सदुपयोग गर्नका लागि सधै इनर्जी स्टार भएकै डिस वाशर खरिद गर्नु ठीक हुन्छ ।

प्रयोगको क्रममा आवाज

डिस वाशरहरु प्रयोगको क्रममा शान्त रहदैनन । ४७ dBA भन्दा कम आवज निकाल्ने डिस वाशरलाई उचित मानिन्छ।बजेट डिस वाशरले प्रयोगको समयमा निकाल्ने आवज भने थोरैमा ५० dBA देखि धेरैमा ५५ dBA सम्म पनि पुग्न सक्छन।कुनै कुनै डिस वाशरले भने ४० dBA भन्दा कम आवाज निकाल्ने गर्दछन् तर यिनीहरु निकै महँगा हुन्छन।

यसमा तपाईको मत