बजार संक्षेप

काठमाडौं फर्कने जहाजमा टिकट पाउनै गाह्रो

  नागरिक   2019-10-17

मिनराज भण्डारी
काठमाडौं- दसैं मनाउन गाउँ फर्किएकाहरु काठमाडौं फर्कने क्रम बढ्दै गएको छ । अहिले विभिन्न जिल्लाका बसपार्कमा यात्रुको भीड देखिन्छ । 
देशभरका विभिन्न गन्तव्यबाट राजधानीका लागि छुट्ने बसहरु सिटबाहिर पनि यात्रु राखेर फर्किरहेका छन् । काठमाडौं फर्कने टिकट सर्वसुलभ नहुँदा यात्रु ठगिने तथा टिकट नै नपाएका गुनासा व्यापक छ । 
टिकट नपाउने समस्यास्थल मार्गमामात्र नभएर हवाईमार्गमा पनि उत्तिकै छ । यात्रु चापका कारण अहिले त्रिभुवन विमानस्थलमा दैनिक तीन सय ५० भन्दा बढी आन्तरिक उडानहरु भइरहेका छन् । अबको २–३ दिनभित्र दसैं मनाउन बाहिरिएकाहरु उपत्यका फर्किसक्ने निजी  वायुसेवा कम्पनीहरुको भनाइ छ । 
उनीहरुका अनुसार दसैं अघि नै प्रायः उडानका फर्कने टिकट बुक भइसकेकाले अग्रिम बुकिङ गरेको यात्रुलाई उडाउन अहिले विमान कम्पनीहरु व्यस्त छन् । 
भद्रपुर, विराटनगर, राजविराज, भैरहवा र नेपालगन्जको उडान भरिरहेको श्री एयरलाइन्सले ८० वर्ष माथिकालाई पाँच सयमा र ७५ नाघेकालाई आधा छुटमा टिकट दिएकाले दसैंपछिको धेरै उडानको दसैंअघि नै बुक भइसकेकोले नयाँ यात्रुलाई दिन नसकेको बताएको छ । श्रीका प्रवक्ता अनिल मानन्धर अहिले काठमाडौंबाहिर जाने हवाई उडानमा टिकटको समस्या नरहे पनि काठमाडौं आउनेमा अझै १–२ दिन भिडभाड रहने बताउँछन् । ‘दसैंमा फरक–फरक मितिमा उडान भरेकाले फर्कन एकै दिनको टिकट बुक गरेका कारण पनि हवाई चाप बढेको हो,’ उनले भने, ‘अवको एक–दुई दिनमा सबै यात्रु ओसारिसक्छौं ।’ 
पहिलै टिकट बुक भइसकेका कारण अहिले महँगो टिकटको सुविधासमेत नरहेको उनको भनाइ छ । भैरहवाको उडानमा यात्रु चाप कम भइसकेको र अन्य ठाँउमा पनि विस्तारै कम हुँदै जाने उनले बताए । अबको एक हप्तापछि तिहारको माहोल सुरु भइसक्ने भएकाले अहिले निजी विमान कम्पनीलाई यात्रु ओसार्न भ्याइनभ्याई भएको उनको भनाइ छ । ‘श्रीले भर्खरै सञ्चालनमा ल्याएको ८० सिट क्षमताको ड्यास ८ क्यू ४१०० विमानबाट यात्रु ओसारिरहेको छ,’ उनले भने, ‘नयाँ जहाजबाट घनगढी र नेपालगन्जको उडान भरिरहेका छौं ।’
यती एयरलाइन्सका वरिष्ट प्रबन्धक तथा प्रवत्ता भिमराज राई पनि बुकिङ भएर फर्कने टिकटमा चाप रहेको बताउँछन् । अहिले महँगो फेयरको टिकट पनि नरहेकाले यात्रु चाप उच्च देखिएको उनले बताए । देशभरका उडानमा यात्रु चाप उस्तै रहेको र यो हप्ताभित्र टिकट नपाउने समस्या समाधान हुने उनले बताए । ‘काठमाडौंबाट बाहिर जाने यात्रुलाई हामीले निकै सस्तोमा उडाइरहेका छौं,’ उनले भने, ‘विराटनगरको साबिक भाडा सात हजार पाँच सय रहे पनि अहिले काठमाडौंबाट विराटनगर जानेलाई पाँच हजारमै उडाइरहेका छौं ।’ खालि विमान उडाउनुभन्दा सस्तोमा उडाउनु उचित हुने उनले बताए । 
दसैंअघि काठमाडौंबाट बाहिर जाने उडानमा चाप रहे पनि अहिले आउनेमा चार रहेको उनले बताए ।
उनले भने, ‘यात्रुको चाप अत्यधिक छ । भनेकै दिनमा टिकट पाउन सक्ने अवस्था छैन ।’ हाल यतीले भद्रपुर, तुम्लिङटार, विराटनगर, भरतपुर, पोखरा र नेपालगन्ज उडान भर्दै आएको छ । यो कम्पनीले पहाडतर्फ नेपालगन्जबाट फाप्लु, बाजुरा, जुम्ला, सिमिकोट, जुम्ला, रारा र डोल्पाको उडान गर्छ । पोखरा–जोमसोम रुटमा पनि यात्रुको उत्तिकै चाप रहेको राईको भनाइ छ । काठमाडौंबाट मात्रै यतीले दैनिक ३५ उडानसम्म भरिरहेको छ ।
सिम्रिक एयरले पोखरा र भरतपुरको उडान गरिरहेको जनाउँदै आफ्ना उडानमा स्वाभाविक चाप रहेको कम्पनीका सञ्चार प्रवक्ता प्रज्ज्वल थापाले बताए ।
उनका अनुसार कम्पनीका ८० प्रतिशत रिटर्न टिकट दसैं अघि नै बुक भइसकेका थिए । ‘यसपटक दसैं र पर्यटकीय सिजन सँगसँगै परेकाले दोहोरो टिकट बिक्रीमा अत्यधिक चाप देखिएको थियो,’ उनले भने  ।
बुद्ध एयरले अबको केही दिनभित्रै दसैंमा बाहिरिएका यात्रु ओसारिसक्ने जनाएको छ । कम्पनीका मार्केटिङ म्यानेजर रुपेश जोशीले हाल बुद्धले तुम्लिङटार, सिमरा, भरतपुर, नेपालगन्ज, भद्रपुर, धनगढी र सुर्खेतमा उडान गरिरहेको जनाउदै रिटर्न टिकटमा यात्रुको चाप यथावत गएको जनाए ।
सौर्य एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको निर्देशन अनुरुप दसैंका उडानमा १० प्रतिशत छुट दिएको थियो । हाल यात्रुको चाप मध्यम रहेको कम्पनीको भनाइ छ । यसले भैरहवा, विराटनगर र भद्रपुरमा उडान सेवा दिइरहेको छ । विराटनगरबाट फर्कने उडानमा यात्रुको चाप धेरै रहेको सौर्यको भनाइ छ । 
 

यसमा तपाईको मत