अटो विशेष

सवारीधनी हुँदा लाग्ने असली शुल्क

  नागरिक   2019-01-13

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च पनि आइपुग्छ । यस्ता खर्चहरु के के हुन् त ? तल पढ्नुहोस्:

 

    १. इन्धन


सवारी साधनलाइ चलाउन इन्धनको आवश्यकता पर्छ र सवारीलाइ इन्धन कै पूर्ति गर्दा नै मुख्य खर्च हुन्छ । सबै गाडीको इन्जिन एकै तरिकाले बनेको हुदैन । कुनै गाडीले धेरै इन्धन खपत गर्छ त कुनै ले कम । गाडीले गर्ने इन्धन खपतलाइ माइलेजमा मापन गर्ने गरिन्छ । एक लिटर तेल / इन्धनले सो गाडी जति दूरी तय गर्न सक्छ, त्यो नै सो गाडीको माइलेज हो । यसै गरि बिद्युतबाट चल्ने सवारी साधन चाहिँ एक पटक चार्ज गरेपछि कति किमीसम्म चल्न सक्छ, त्यो नै सो सवारीको माइलेज हो ।  
जस्तै: एक लिटर डिजेलमा कुनै गाडी औसतमा २० किमी चल्न सक्छ भने सो गाडीको माइलेज २० किमी प्रति लिटर हुन जान्छ । साना र कमजोर इन्जिन भएका गाडीको माइलेज बढी हुन्छ भने ठूला र बलिया इन्जिन भएको गाडीको माइलेज थोरै हुन्छ ।   जति माइलेज थोरै दिने सवारी साधन खरिद गर्नुहुन्छ त्यति नै तपाइले गाडीको इन्धनको लागि धेरै पैसा खर्च गर्नुपर्छ । त्यसैले सवारी साधन खरिद गर्दा माइलेजको ख्याल गर्नु पनि आवश्यक छ ।
व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिएको कार एक वर्षमा औसत १० हजार देखि १५ हजार किलोमिटरसम्म कुद्न सक्छ । यो संख्या व्यक्ति र प्रयोग पिच्छे फरक पर्न जान्छ । एक वर्षमा १५ हजार किलोमिटर मात्र कुदाए पनि वार्षिक इन्धन खर्च लगभग ६५ हजार नेरु हुन जान्छ - २० किलोमिटर प्रति लिटर माइलेज दिने गाडीको सन्दर्भमा ।  

 

 

   २. रखरखाव / सम्भार/ स्याहार


हरेक यन्त्रमा केहि समयको प्रयोग पछि समस्या आउन सुरुगर्छ । सवारी साधन झन् थुप्रै त्यस्ता स-साना यन्त्रहरु मिलेर नै बनेको हुन्छ र ति स-साना यन्त्रहरुमा साना देखि ठूला समस्याहरु देखापर्न सक्छन । त्यस्ता पार्टहरु बेला बेलामा परीवर्तन गर्न पर्ने पनि हुन्छ । जस्तै: गाडी सडकमा चल्न सुरु गरेपछि कुनै न कुनै समयमा गाडीको टायर फाट्छ र च्यातिन्छ । टायर परिवर्तन गर्नका लागि पनि धेरै नै पैसा लाग्छ । यसरी नै गाडीको मोटर इन्धन पनि बेला बेलामा परिवर्तन गर्नुपर्छ । गाडी स्क्र्याच हुन्छ, कहिले काहिँ कतै ठक्कर खान्छ, कुनै कुराहरु आफै चल्न बन्द गरिदिन्छ, गाडीको ब्याट्री र हेडलाइटहरु बिग्रीदिन्छ आदि - यस्ता समस्या थुप्रै आइपुग्छन् र यो सबै मिलाउनका लागि पनि धेरै नै खर्च हुन्छ । अर्थात् सवारी धनी भईसके पछि तपाइले गाडीको रखरखावको लागि धेरै नै पैसा खर्च गर्नुपर्ने हुन्छ ।


 ३. मूल्यह्रास (Depreciation)

 

सवारी साधन किनेर सडकमा कुदाउन सुरु गरेपछि त्यस सवारीको फेरि बेच्ने मूल्य घट्दै जान्छ । तपाइले जति रकम खर्च गरेका उक्त सवारी खरिद गर्नु भएको थियो त्यति नै मूल्यमा बेच्न सकिदैन । किनेको सवारी नबिग्रदासम्म र काम नलाग्ने नहुदा सम्म चलाउने सोच बनाएकालाइ यो समस्या को बिषय त होइन तर २-४ वर्ष नया सवारी चढ्न रुचाउनेहरुले यो कुराको ख्याल गर्नु पर्छ ।
सवारी जति धेरै दूरी चल्यो र जति धेरै समय चल्यो, त्यति नै सवारीको मूल्य घट्दै जान्छ । यदि सवारी धेरै मूल्यमा बेच्न चाहनुहुन्छ भने सवारीको स्तिथि र चेसिस नयाँ र राम्रो राख्नुपर्छ । पहिलो पटक सवारी किन्न चाहेकाले भने पुराना र सेकेन्ड ह्यान्ड सवारी किनेर केहि पैसा जोगाउन सक्छन ।
प्रयोग गरेको ६ महिना सम्ममा मूल्यह्रास ५%, ६ महिना भन्दा बढी तर १ वर्षभन्दा कम प्रयोग भएको गाडीको मूल्यह्रास लगभग १० प्रतिशत र आदि हुने गर्दछ ।

 

    ४. कर र दस्तुर


नयाँ सवारी खरिद गरेपछि सवारी निर्माण तथा सम्भार दस्तुर भनेर नेपाल सरकारलाइ भारी रकम बुझाउनु पर्छ । सो दस्तुर नतिरी तपाइले सडकमा सवारी चलाउन पाउनुहुन्न । सो दस्तुर भने तपाइको सवारीको किसिम र सुरुको मूल्यमा भर पर्छ । कार, जिप, भ्यान आदिका लागि मूल्यको ७% निर्माण दस्तुर स्वरूप सरकारलाइ बुझाउनु पर्ने हुन्छ ।


यस लगायत तपाइले वर्ष-वर्षमा सवारी कर पनि सरकारलाइ बुझाउनु पर्छ । तपाइले आफ्नो व्यक्तिगत सवारीको लागि पनि न्यूनतम् १९,००० देखि अधिकतम् ५३,००० सम्म वार्षिक कर तिर्नु पर्ने हुन्छ । नेपाल सरकारले लिने सवारी कर र दस्तुरका बारेमा बिस्तृत जानकारीका लागि यहाँ जानुहोस् ।

 

५. ऋण


अधिकतम् मानिसहरुले सवारी साधन कुनै वित्तीय संस्था, बैंक वा व्यक्तिबाट ऋण लिएर खरिद गरेका हुन्छन् । सो ऋणको ब्याज पनि तिर्दै जानु पर्ने हुन्छ र उक्त रकम सवारी साधन कै खर्चमा जोडिदै जान्छ । त्यसैले तपाइले सवारी साधन ऋण लिएर खरिद गर्दै हुनुहुन्छ भने सो ऋणको ब्याज र मूल रकम बेलैमा चुक्ता गर्न सक्नु हुन्छ या हुदैन सोच्नुहोस् ।   सवारी साधनको ऋण तिर्नु अगाडी नै सवारी साधनको बजार मूल्य धेरै नै घटिसकेको हुन सक्छ ।


   ६. बीमा


सवारी दर्ता गर्नहोस् या नामसारी गर्न, बीमा अनिवार्य छ । बिमा भन्नाले आर्थिक नोक्सानी हुदा दिईने क्षतिपूर्तिको ग्यारेन्टीलाइ बुझिन्छ । बिमा गरेर तपाइले भोलिका दिनमा हुन सक्ने जोखिम न्यूनिकरण गर्न सक्नुहुन्छ । सवारी बीमाले सवारी दुर्घटना, सवारी चोरी, सवारीको भौतिक क्षेति आदिको क्षेतिपूर्ति प्रदान गर्छ । तर बीमाका लागि भने वर्ष वर्षमा बीमा कम्पनीलाइ रकम तिर्नु पर्ने हुन्छ । यो बीमाको लागि गरिएको खर्च पनि सवारीको असली खर्चमा जोडिदै जान्छ ।  

 

यसमा तपाईको मत