बजार संक्षेप

होटल मोक्सी आउँदै

  नागरिक   2020-02-16

काठमाडौं– नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन गरेको एमएस ग्रुपले नै उक्त होटल सुरु गर्न लागेको हो । 
एमएस ग्रुपले मेरियटकै साढे तीन तारेस्तरको ‘मोक्सी’ सञ्चालनमा ल्याउन लागेको हो । अबको साढे दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी साढे तीनतारे स्तरको मेरियटको मोक्सी होटल निर्माण प्रक्रिया अघि बढाइएको एमएस ग्रुपका उपाध्यक्ष सुमितकुमार अग्रवालले जानकारी दिए । 
‘काठमाडौंको कमलादीमा उक्त होटल निर्माणका लागि सम्पूर्ण प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने, ‘निर्माण प्रक्रिया अघि बढिसकेकाले अबको साढे दुई वर्षभित्रमा सञ्चालनमा ल्याउनेछौं ।’ उनका अनुसार उक्त होटल निर्माणका लागि ठेकेदार छनोट प्रक्रियासमेत अघि बढिसकेको छ । 
देशका मुख्य सहरहरुमा मेरियट होटलको चेन विस्तारको योजना बनाएको एमएस ग्रुपले काठमाडौंमै थप अर्को होटल खोल्न लागेको हो । कुल एक अर्ब ४० करोड रुपैयाँ लगानीमा बन्न लागेको सो होटल १० तलाको हुनेछ । यसमा एक सय एकदेखि एक सय १५ कोठासम्म रहने अग्रवालले जानकारी दिए । 
होटलमा १० वटा सुइट रुम र बाँकी डिलक्स रुम रहनेछन् । नेपाल पर्यटकको लागि सबैभन्दा उपयुक्त गन्तव्य रहेको र नेपालमा बढीभन्दा बढी पर्यटक भिœयाउन आफूहरुले होटल विस्तारलाई उच्च प्राथमिकता दिएको अग्रवालले बताए । ‘हामीले नेपाल घुम्न आउने सबै पर्यटकलाई उपयुक्त हुने खालका होटल निर्माण गरी सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘सोहीअनुरुप हामीले देशमा मुख्य स्थानमा होटल खोल्ने प्रक्रियालाई उच्च प्राथमिकतासाथ अघि बढाएका छौं ।’ 
देशका मुख्य सहरहरुमा होटल खोल्न मेरियट ब्रान्डसँग सम्झौता गरेको एमएस ग्रुपले तेस्रो होटलको रुपमा मोक्सी ल्याउन लागेको हो । नेपालमा एमएस ग्रुपले सञ्चालन गरेको काठमाडौं मेरियटले नेपाल होटल इन्डस्ट्री लिडरसिप अवार्ड–२०१९ सहित पाँचवटा प्रतिष्ठित एवार्ड जितेको थियो । वल्र्ड मार्केटिङ कंग्रेसले प्रदान गर्ने उक्त एवार्डलाई प्रतिष्ठित मानिन्छ । 
सन् २०१९ मै सञ्चालनमा आएको उक्त होटलले लिडरसिपसँगै सर्वश्रेष्ठ रोजगारदाता ब्रान्ड अवार्ड, बेस्ट बार अफ द इयर एवार्ड, बेस्ट इयर भेनु अफ द इयर अवार्ड, बेस्ट होटल लन्च अफ द इयर अवार्ड समेत जितेको छ । प्रतिस्पर्धामा सहभागी पाँच सय होटलमध्येबाट मेरियटले ती पाँच अवार्ड जितेको हो ।

यसमा तपाईको मत