बजार संक्षेप

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

    2019-08-22

करुण ढकाल
काठमाडौं-पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से दिउँसो १ः२० बजे १२०९.८ बिन्दुमा झरेको थियो । त्यसपछि भने सह्मालिएर बिस्तारै उकालो लागेको हो । चार दिनयता नेप्सेले १२१० बिन्दु आसपासलाई टेवा बनाएको देखिएको छ ।
बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२२ बिन्दुले बढेर २६३.४१ मा पुगेको छ । यस दिन कारोबार भएका १२ वटा समूहमध्ये चारवटाको सूचक हरियो छ भने आठवटाको सूचक रातो छ । यस दिन सबैभन्दा बढी व्यापार समूहको सूचक बढेको छ । यो समूहमा सूचीकृत विशाल बजार कम्पनीको सेयर मूल्य उच्च गतिले बढेपछि समग्र समूहकै सूचकमा ७.१ बिन्दुको वृद्धि देखिएको छ । यसैगरी अन्य समूह ६.९१, विकास बैंक समूह ०.४५ र वित्त समूह ०.१ बिन्दुले उकालो लागेका छन् ।
यस दिन सबैभन्दा बढी होटल्स समूहको सूचक ओरालो लागेको छ । यो समूहको सूचक १५.२ बिन्दुले ओरालो लागेको हो । यसैगरी उत्पादनमूलक समूह ७.४४, जीवन बिमा ६.७८, निर्जीवन बिमा ५.९, जलविद्युत् समूह २.३५, लघुवित्त १.२४ र बैंकिङ तथा म्युचुअल फन्ड समूह समान ०.०४ बिन्दुले ओरालो लागेका छन् ।
कारोबार रकममा वृद्धि
यस दिन कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । बुधबार २९ करोड २६ लाख ४१ हजार सात सय १८ रुपैयाँको सेयर किनबेच भएको छ । यो अघिल्लो दिनको तुलनामा ७.४ प्रतिशत बढी हो । मंगलबार २७ करोड २५ लाख नौ हजार २० रुपैयाँको कारोबार भएको थियो ।
बुधबार सबैभन्दा बढी सोल्टी होटलको सेयर कारोबार भएको छ । यस कम्पनीको चार करोड बीस लाख २१ हजार ६ सय ४४ रुपैयाँको सेयर किनबेच भएको हो । कारोबार रकमका आधारमा दोस्रोदेखि पाँचौं स्थानसम्म क्रमशः माछापुच्छ«े बैंक, एनआइसी एसिया बैंक, नबिल बैंक र रसुवागढी हाइड्रोपावर कम्पनी परेका छन् । उच्च कारोबार हुने १० कम्पनीमा कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, शिवम सिमेन्ट, नेपाल इन्भेस्टमेन्ट बैंक र नागरिक लगानी कोष पनि परेका छन् ।
समूहगत आधारमा सबैभन्दा बढी कारोबार बैंकिङ समूहको भएको छ । यस समूहको १३ करोड पाँच लाखभन्दा बढीको सेयर किनबेच भएको छ । यो कुल कारोबार रकमको ४६ प्रतिशत हो । यसैगरी होटल्स र विकास बैंक समूह दुवैको चार करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।
यस दिन सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य बढेको छ । अघिल्लो दिन पनि पाँच प्रतिशतले मूल्य बढेको यो कम्पनीको सेयर भाउ बुधबार पनि ५.७३ प्रतिशतले वृद्धि भएको  छ । यसैगरी पाँचथर पावर कम्पनी र जानकी फाइनान्सको सेयर मूल्य पनि चार प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
यस दिन सबैभन्दा बढी गुमाउनेमा गणपति माइक्रोफाइनान्सका लगानीकर्ता परेका छन् । यो कम्पनीको सेयर मूल्य ५.४ प्रतिशतले ओरालो लागेको छ । यसैगरी नाडेप लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य पनि पाँच प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । उच्च मूल्य घट्ने १० कम्पनीमा तीनवटा माइक्रोफाइनान्सका साथै पाँचवटा जलविद्युत् कम्पनी परेका छन् ।
बियरिस अवस्थामै बजार
अन्तिम समयमा झिनो बिन्दुले हरियो बनेको बजारमा यस दिन मूल्य घट्ने कम्पनीको संख्या बढी छ । एक सय ६१ कम्पनीको कारोबार भएकोमा ५४ वटाको मूल्य बढेको छ भने ७७ वटाको घटेको छ । ३० वटा कम्पनीको क्लोजिङ मूल्यमा कुनै परिवर्तन आएन । यस दिनको एडी रेसिया (मूल्य बढ्ने कम्पनी र घट्ने कम्पनीको अनुपात) ०.७ छ । यसले बजार बियरिस अवस्थामै रहेको संकेत गर्छ । यो अनुपात एकभन्दा माथि भयो भनेमात्रै त्यसले बजारको बुलिस अवस्थाबारे संकेत गर्छ ।
यस दिन नेप्सेले झन्डै लङ लेग्ड डोजी आकारको हरियो महिनबत्ती बनाएको छ । यसले बजारमा क्रेता र विक्रेताबीच चर्को बार्गेनिङ रहेको संकेत गर्छ । बजारमा प्रायः सबैजसो ठूला कम्पनीको सेयरमा क्रेता र विक्रेताबीच एक–दुई रुपैयाँमा चर्को बार्गेनिङ भइरहेको मार्केट डेप्थले पनि देखाएको छ । डोजी आकारको महिनबत्तीले बजारमा कायम प्रवत्तिले निरन्तरता पाउने हो वा प्रवृत्ति परिवर्तन हुने हो भन्ने अन्योल उत्पन्न भएको संकेत पनि गर्छ । सामान्यतया कुनै प्रवृत्तिको अन्त्यमा डोजी महिनबत्ती बने त्यसले दिशा परिवर्तन हुन लागेको संकेत गर्ने बजारका प्राविधिक विश्लेषकहरु बताउँछन् । तर यो पूर्ण निश्चित भने हुँदैन ।
 

यसमा तपाईको मत