बजार संक्षेप

पुँजीबजार ११ बिन्दुले ओरालो

  नागरिक   2019-08-25

करुण ढकाल
काठमाडौं-पुँजीबजार यो साता पनि ओरालो लागेको छ । सम्बन्धित सरकारी निकायको गतिविधिका कारण लगानीकर्ताको गुमेको आत्मविश्वास फर्किन नसक्दा बजार निरन्तर ओरालो गतिमा छ । धितोपत्र बोर्ड र नेप्सेले एक महिनाभन्दा बढी समय बित्दा समेत पुँजीगत लाभकर गणना विधि टुंगो लगाउन सकेका छैनन् । जसले गर्दा लगानीकर्ता अनलाइनमार्फत घरबाटै कारोबार गरेर पनि ब्रोकर अफिस धाउनुपर्ने बाध्यता छ । सेयर बेचेपछि ब्रोकर अफिसमा पुगी लागत स्वघोषणा गरिएको फारममा औंठाछाप लगाउनुपर्ने बाध्यताले सेयर लगानीकर्तालाई मनोवैज्ञानिक दबाब दिएको छ ।
यससँगसँगै बैंकलाई ब्रोकर लाइसेन्स दिन सुरु भएको प्रक्रिया संसद्को अर्थ समितिको निर्देशनका कारण स्थगन हुन पुग्दा त्यसले समेत बजारमा नकारात्मक असर पुर्याएको  छ । बैंकले ब्रोकर लाइसेन्स पाउँदा सेयर बजार विस्तार हुने अपेक्षा लगानीकर्ताले गरेका थिए । विगतमा सूचीकृत कम्पनीले नियामक निकायले तोकेको चुक्ता पुँजी पुर्याउन भारी मात्रामा हकप्रद र बोनस सेयर जारी गरेका थिए । जसले बजारमा सेयरको आपूर्ति बढाएको थियो । आपूर्तिको तुलनामा माग बढ्न नसक्दा बजार प्रभावित हुन पुग्यो । बैंकले ब्रोकर लाइसेन्स पाएपछि देशव्यापी रुपमा बजार विस्तार हुने र माग तथा आपूर्तिबीच सन्तुलन आउने विश्लेषण गरिएको थियो ।
भदौ र यसपछिका केही महिना सेयरका लगानीकर्ताले प्रतिफल पाउने समय हो । केही कम्पनीले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई दिने लाभांश घोषणासमेत गरिसकेका छन् । अधिकांश सूचीकृत कम्पनीले राम्रै लाभांश वितरण गर्न सक्ने वित्तीय विवरण सार्वजनिक गरेका छन् । तर बजारमा यसको कुनै प्रभाव देखिएको छैन । फलतः गत साता पनि बजार १०.९७ बिन्दु (०.९ प्रतिशत) ले ओरालो लाग्यो । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार १२२४.०३ बिन्दुमा बन्द भएको बजार गत बिहीबार १२१३.०६ बिन्दुमा आइपुगेको छ । अघिल्लो साता बजार १४.५ बिन्दुले ओरालो लागेको थियो । गत साता ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि झन्डै एक बिन्दुले ओरालो लागी २६३.७ मा आइपुगेको छ । यो इन्डेक्स अघिल्लो बिहीबार बजार बन्द हुँदा २६४.७ थियो ।
गत साता जम्मा एक अर्ब ५४ करोड ५९ लाख ७४ हजार एक सय २१ रुपैयाँको सेयर किनबेच भएको छ । यो अघिल्लो साताको तुलनामा १३.५ प्रतिशतले कम हो । अघिल्लो साता एक अर्ब ७८ करोड ७७ लाख ६१ हजार चार सय ८८ रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । कारोबार रकम गत तीन सातायता नै लगातार घट्दो क्रमममा छ ।
सोल्टी होटलको बढी कारोबार
कारोबार रकमका हिसाबले गत साता सोल्टी होटल पहिलो स्थानमा रह्यो । यस कम्पनीको १० करोड ४९ लाख ५१ हजार चार सय २८ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकमका हिसाबले दोस्रोदेखि पाँचौंसम्मको स्थानमा क्रमशः एनआइसी एसिया बैंक, रसुवागढी हाइड्रोपावर, कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक छ । उच्च कारोबार हुने १० कम्पनीमा सातवटा बैंक छन् । कारोबार संख्याका आधारमा भने रसुवागढी हाइड्रोपावर पहिलो स्थानमा छ ।
गत साता सबैभन्दा बढी सेयर मूल्य ग्लोबल आईएमई लघुवित्तको बढेको छ । यस कम्पनीको सेयर भाउ १३.४ प्रतिशतले उकालो लागेको हो । यसैगरी सामुदायिक लघुवित्त र विशालबजार कम्पनीको पनि सात प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको छ । गत साता सबैभन्दा बढी मूल्य घट्नेमा सिद्धार्थ इक्विटी फन्ड परेको छ । यो फन्डको भाउ झन्डै १० प्रतिशतले ओरालो लागेको छ । यसैगरी गुराँस लघुवित्त र प्रुडेन्सियल इन्सुरेन्सको सेयर भाउ पनि आठ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
लगानीकर्ताले गुमाए १२ अर्ब
घट्दो बजारमा गत साता लगानीकर्ताको सम्पत्ति झन्डै १२ अर्बले घटेको छ । सूचीकृत कम्पनीको सेयर मूल्य ओराला लाग्दा कुल बजार पुँजीकरण पनि घट्न पुगेको छ । अघिल्लो साता कुल बजार पुँजीकरण १५ खर्ब ५१ अर्ब रुपैयाँ थियो । गत साता बजार पुँजीकरण १५ खर्ब ३९ अर्बमा आइपुगेको छ । यो अघिल्लो साताको तुलनामा ११ अर्ब ७९ करोड कम हो ।
टेवाको खोजीमा नेप्से
गत साता बजार १२१३ बिन्दुको आसपास गतिशील रह्यो । साताभरिमा बजारले १२०९.७७ को तल्लो विन्दु र १२२९.५ को उच्च विन्दु बनायो । फिबोनासी गणनाअनुसार यति बेला बजार ०.५ रिट्रेसमेन्ट लेभल आसपास छ । बजारको आगामी दिशा के हुने भन्ने अझै निश्चित देखिएको छैन । गत साता सुरुका तीन दिन लामो शरीर भएका महिनबत्ती र अन्तिम दुई दिन डोजी आकारका महिनबत्ती बनेका छन् । डोजी आकारको महिनबत्तीले यसअघिको प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गर्छ तर यो निश्चित भने हुँदैन । यसले दिने संकेत निश्चित हुन आगामी दिनको महिनबत्तीको अवस्था हेर्नुपर्ने बजारका प्राविधिक विश्लेषक बताउँछन् । साप्ताहिक चार्टमा पनि गत साता डोजी आकारको रातो महिनबत्ती बनेको छ ।
बोलिङ्गर ब्यान्डमा हेर्दा साताको पहिलो दिन तल्लो रेखा छोएको नेप्से त्यसपछिका चार दिन उक्त रेखामाथिपट्टि गतिशील रह्यो । यसले जारी प्रवृत्ति कमजोर हुँदै गएको संकेत गर्छ । आरएसआई ३०.१ बिन्दुमा छ । यसले बजार ओभर सोल्ड जोनमा रहेको संकेत गर्छ । यस्तै १३ दिने र ४८ दिने मुभिङ एभरेज रेखामुनि नेप्से गतिशील छ । यी दुई रेखाको अन्तर बढ्दै गएको छ । यी रेखाबीचको अन्तर घट्न थाल्दा बजार फर्किने संकेत मिल्छ ।
दुई कम्पनीको सेयर सूचीकरण
गत साता दुईवटा कम्पनीको सेयर सूचीकरण भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । सबैको लघुवित्तको आइपिओ र गुराँस लाइफ इन्सुरेन्स कम्म्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकरण भएको हो ।

कारोबार संख्याका आधारमा उत्कृष्ट १० कम्पनी
कम्पनी                                 कारोबार संख्या

रसुवागढी हाइड्रोपावर               ६२५५
सान्जेन जलविद्युत्                    ५६८५
अपर तामाकोसी हाइड्रोपावर       ९९०
नेपाल इन्भेस्टमेन्ट बैंक                ९८६
एनआइसी एसिया                      ८३२
इन्फिनिटी लघुवित्त                     ६०२
कृषि विकास बैंक                       ५३७
प्रभु बैंक                                   ५२४
नेपाल बैंक                                ४६८
महालक्ष्मी विकास बैंक                ४६६
स्रोत : नेपाल स्टक एक्सचेन्ज

यसमा तपाईको मत