बजार संक्षेप

बजार खुल्दा किन्नेको भिड

    2019-07-17

काठमाडौं,– साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार नेप्से ४.४५ बिन्दुले बढेको हो । 
बिहान ११ बजे बजार खुल्नेबित्तिकै किन्नेको चाप बढ्दा नेप्से अघिल्लो दिनको तुलनामा झण्डै २५ बिन्दुले उकालो लाग्यो । तर, यो वृद्धि धेरैबेर टिक्न सकने । सुरुमा लगानीकर्तामा देखिएको उत्साह लगत्तै घट्न थाल्यो र करिब पौने दुई घन्टा गिरावटको क्रम जारी रह्यो । 
बजार खुलेको दुई मिनेटमै १२८५.४९ बिन्दु छोएको नेप्से १ बजेर ४५ मिनेट जाँदा मंगलबारको सबैभन्दा तल्लो बिन्दु १२५६.६९ मा आयो । त्यसपछि मन्द गतिले बढेको परिसूचक बजार बन्द हुँदा १२५९.०१ मा पुग्यो । 
मंगलबारको कारोबारलाई हेर्दा सुरुमा लगानीकर्तामा उत्साह देखिएको र क्रमशः त्यो उत्साह सेलाउँदै गएको देखिएको छ । बजार सुरु हुँदा खरिदमा चाप परे पनि त्यसपछि कमजोर भएको देखिन्छ । लगानीकर्ताले चालु आर्थिक वर्षको साँवाब्याज र कर भुक्तानी गरिसकेको र आगामी वर्ष राम्रो हुने अनुमानमा खरिदकर्ता उत्साहित हुँदा परिसूचक बढेको हो ।
मंगलबार कारोबार भएका सबै उपसूचक बढेका छन् । सबभन्दा बढी होटलको र सबभन्दा कम म्युचुअल फन्डको उपसूचक बढेको छ । नेप्सेका अनुसार बैंकिङ ४.१३, होटल ५६.०८, विकास बैंक ५.९९, हाइड्रोपावर १.१६, फाइनान्स ५.१४, निर्जीवन बिमा १०.४६, उत्पादनमूलक ७.०९, अन्य २.२३, लघुवित्त ५.५, जीवन बिमा १.७३ र म्युचुअल फन्डको सूचक ०.४८ बिन्दुले बढेको छ । 
सेयर परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको भन्दा कम छ । सोमबार ४३ करोड पाँच लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा मंगलबार ३४ करोड ७२ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ । यो आइतबारको २८ करोड ५२ लाख रुपैयाँ को तुलनामा भने ६ करोड २० लाख रुपैयाँले बढी हो । मंगलबार १९ लाख ५६ हजार ६ सय ३० कित्ता सेयर किनबेच भएको छ । यो अघिल्लो दिनको २९ लाख ७३ हजार आठ सय ४३ कित्ताको तुलनामा १० लाख १७ हजार कित्ताले कम हो । मंगलबार एक सय ६१ कम्पनीको सेयर चार हजार पाँच सय ४९ पटक किनबेच भएको छ । 
मंगलबार कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड सबैभन्दा अगाडि छ । यस दिन नेपाल बैंकको पाँच करोड ७८ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सेयर संख्याको आधारमा पनि यही बैंक अगाडि छ । यसको एक लाख ७२ हजार ९६ कित्ता सेयर किनबेच भएको छ । 
यस दिन सबैभन्दा बढी नबिल इक्विटी फन्डका लगानीकर्ताले कमाएका छन् । उनीहरुको सम्पत्ति ९.१२ प्रतिशतले बढेको छ । सबै परिसूचक बढ्दा पनि आँखु खोला जलविद्युत् कम्पनीका सेयरधनीले ४.१६ प्रतिशतले गुमाएका छन् । 
 

यसमा तपाईको मत