अटो विशेष

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

  नागरिक   2019-11-15

काठमाडौं– नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । यो सेवा विशेषगरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकाय लगायत संघ–संस्थाका लागि बढी उपयोगी हुने कम्पनीको दाबी छ । 
संघ–संस्थाले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालयमार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिस सेवा प्रदायक संस्थामा सम्पर्क गरी सेवा प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुनेछ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपछि टेलिकमको वेबसाइट प्रयोग गरी यो सेवा उपभोग गर्न सकिन्छ । 
ग्राहक स्वयंले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जिएसएम तथा सिडिएमए दुवै किसिमका पोस्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा एक सय ४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिने जनाइएको छ । वेब सुविधा नभएका ग्राहकले आफूले पठाउन चाहेको सन्देश र पठाउनुपर्ने मोबाइल नम्बर उपलब्ध गराएमा कम्पनी वा सेवा प्रदायकले एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध रहेको उल्लेख छ । 
यो सेवा लिन चाहने संघ–संस्थाले मासिक न्यूनतम  १५ सय एसएमएस पठाउनुपर्ने हुन्छ ।
 

यसमा तपाईको मत