ग्याजेट विशेष

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

  नागरिक   2019-03-18

एप्पलले नयाँ र अपडेट गरिएको आइप्याडहरु वेबसाइट मार्फत रिलिज गरेको छ । रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ ।  

आइप्याड एअर (२०१९) र आइप्याड मिनी (२०१९)

एप्पलको नयाँ आइप्याड एअरमा ४:३ अनुपातमा राखिएको १०.५ इन्चको उच्च रेजोलुसनको डिस्प्ले राखिएको छ । डिस्प्लेलाई टच प्यानलसँग ल्यामिनेट गरिएको छ र एप्पलको ट्रुटोन डिस्प्ले सपोर्ट गर्ने छ ।  

एप्पलको सानो र मिनी आइप्याडमा भने  ४:३ अनुपातमा राखिएको ७.९ इन्चको डिस्प्ले रहेको छ । यस डिस्प्लेले पनि ट्रुटोन सपोर्ट गर्छ ।  

डिस्प्ले साइज बाहेक यी दुई आइप्याडको आन्तरिक फिचरहरु एकै रहेको छ । दुवै आइप्याडमा एप्पलको नयाँ र निकै धेरै पावर भएको एप्पल ए१२ प्रोसेसर रहेको छ । उक्त प्रोसेसरलाई सहायता दिनका लागि एप्पलले एम१२ प्रोसेसर पनि राखेको छ । दुवै मोडलहरु ६४ जीबी देखि २५६ जीबी स्टोरेज भएको मोडलमा उपलब्ध हुनेछन् । दुवै मोडलले नै एप्पलको पहिलो संस्करणको एप्पल पेन्सिल सपोर्ट गर्छ ।  

दुवै मोडलमा एकै प्रकारको क्यामरा पनि रहेको छ । दुवै मोडलमा ८ मेगापिक्सलको क्यामरा राखिएको छ जसले १०८०पी गुणस्तरको भिडियो खिच्न सक्छ । सेल्फी क्यामरामा ७ मेगापिक्सलको उच्चस्तरीय सेन्सर राखिएको छ जसले राम्रो गुणस्तरका तस्विरहरु निकाल्न सक्नेछ । दुवै आइप्याडमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ - नयाँ प्रो मोडलमा उपलब्ध भएको फेसआइडी भने यस मोडलमा छैन ।  

आइप्याड एअरमा भने स्मार्ट किबोर्ड जडान गर्नका लागि स्मार्ट कनेक्टर राखिएको छ जुन चाहिँ सानो आइप्याड मिनीमा छैन । एप्पलले दुवै मोडलका लागि नयाँ स्मार्ट कभर पनि रिलिज गरेको छ ।

यी मोडलहरु संसारका केहि देशहरुमा उपलब्ध भइसकेका छन् र मूल्य आइप्याड मिनीको ६४ जीबीको मोडलको लागि $३९९ तोकिएको छ भने आइप्याड एअरको लागि $४९९ तोकिएको छ ।

  
 

यसमा तपाईको मत