ग्याजेट विशेष

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

  नागरिक   2020-03-14

एप्पलको आइफोनमा iOS अपरेटिंग सिस्टम चल्छ । उक्त अपरेटिंग सिस्टम एप्पलको स्वामित्वमा रहेको अपरेटिंग सिस्टम हो जुन आइफोनमा मात्र इन्स्टल गरिएको हुन्छ । आइफोनमा आधिकारिक तरिकाले एन्ड्रोइडहरू चल्दैनन् ।

तर ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् । वांग र उनिका साथीहरू मिलेर आइफोन ७ मा एन्ड्रोइड इन्स्टल गर्न सफल भएका छन् । उनीहरुले आइफोनमा एन्ड्रोइड चलाउनका लागि गरिएको प्रोजेक्टलाई प्रोजेक्ट स्याण्डक्याशल नाम दिएका छन् ।

एन्ड्रोइडको यो संस्करण हालका लागि आइफोन ७, आइफोन ७ प्लस र आइपड टचमा चल्ने छ ।  तर यस प्रोजेक्टको संस्थापकका अनुसार अरु मोडलका आइफोनहरूमा पनि चाडैं एन्ड्रोइड इन्स्टल गर्न सकिने बताएका छन् । उनका अनुसार आइफोन ५ एस भन्दा पुरानो र आइफोन १० भन्दा नयाँ आइफोनहरूमा एन्ड्रोइड इन्स्टल गर्न मिल्ने सम्भावना रहेको छैन ।

आइफोनमा एन्ड्रोइड इन्स्टल गर्न चाहनेले सुरुमा आफ्नो आइफोनलाई जेल्ब्रेक गर्नु पर्ने हुन्छ । जेल्ब्रेक गरेपछि आइफोनको आधिकारिक वारेन्टी समाप्त हुन्छ । जेल्ब्रेक गर्नका लागि चेकराइन जेल्ब्रेक तरिकाको प्रयोग गरिएको छ जसले आइफोन ११ सिरिजको आइफोनहरूलाई जेल्ब्रेक गर्न सक्दैन । प्रोजेक्ट स्याण्डक्यशलको आधिकारिक वेबसाइटमा गएर उक्त वेबसाइटमा भनिएका कुराहरू पालना गरेपछि आइफोनमा एन्ड्रोइड इन्स्टल हुने छ ।

उक्त एन्ड्रोइडको संस्करण एन्ड्रोइड १० रहेको छ । हालै रिलिज गरिएको हुनाले यस संस्करणमा धेरै फिचरहरू छुटेका छन् । उदाहरणका लागि गुगल प्ले स्टोरले काम गर्दैन भने क्यामरा पनि हालका लागि चल्दैन । तर यी समस्याहरूको समाधान चाडैं नै आउने भनिएको छ ।

“ एप्पलले आफ्नो आइफोनहरूमा आफ्नै अपरेटिंग सिस्टम मात्र हालेर बेच्दै आएको छ । यसले गर्दा एप्पलले प्रयोगकर्ताले के के प्रयोग गर्न पाउछन र पाउदैनन् भनेर नियन्त्रण गर्न सफल भएको छ । आइफोन प्रयोगकर्ताहरूलाई विकल्प दिने हेतुका साथ यो प्रोजेक्ट सुचारु गरिएको हो ।” - प्रोजेक्टका संस्थापक बताउछन् ।


स्रोत :  Forbes

 

 

यसमा तपाईको मत