ग्याजेट विशेष

के हो एन्ड्रोइड गो ?

  नागरिक   2019-01-27

गुगलले गत वर्ष एन्ड्रोइडको लाइट संस्करणका रुपमा एन्ड्रोइड गो रिलिज गरेको थियो । त्यो बेला एन्ड्रोइड ८.० ओरियोमा आधारित भएको एन्ड्रोइड गो अहिले एन्ड्रोइड ९ पाईमा आधारित भएर पनि रिलिज गरिएको छ ।

एन्ड्रोइड गो लाई गुगलले ५१२ एम बी देखि १०२४ एम बी अथवा १ जी बी र्याम भएका स्मार्टफोनहरुलाई ध्यानमा राखेर डिजाइन गरेको छ । यो एन्ड्रोइड संस्करणमा फिचरको कटौतीका साथै अप्टिमाइजेसन पनि गरिएको छ जसले गर्दा एन्ड्रोइड गो मा एपहरु साधारण एन्ड्रोइडको तुलनामा १५% सम्म चाडो खुल्नेछन् ।

गुगलले एन्ड्रोइड गो कै लागि भनेर साना र लाइट एपहरुको डिजाइन गरेको छ । यी एपहरुले फुल एपको तुलनामा ५०% कम स्टोरेज लिने गर्छन भने स्लो र थोरै र्याम भएका स्मार्टफोनहरुमा राम्रोसंग चल्न सक्छन । एपलाई फास्ट चल्ने बनाउन र थोरै साइजको बनाउनका लागि एपहरुमा केहि फिचरहरु भने हटाइएको हुनसक्छ । गुगलले हाल एन्ड्रोइड गो स्मार्टफोनमा निम्न “गो" एपहरु पहिलेबाट नै इन्स्टल गरेको छ :

१. गुगल गो
२. गुगल एसिस्टेन्ट गो
३. युट्यूब गो
४. गुगल म्याप्स गो
५. जिमेल गो
६. जिबोर्ड गो
७. गुगल प्ले स्टोर
८. क्रोम
९. फाइल्स गो    

गुगलले एन्ड्रोइड गो बनाउनुको कारण के ?

नेपाल, भारत, चिन जस्ता मुलुकहरुमा १०० अमेरिकी डलर अर्थात् नेरु ११ हजारभन्दा कमका स्मार्टफोन प्रयोग गर्ने व्यक्ति धेरै छन् । कतिपय व्यक्तिहरुले फिचर स्मार्टफोनको प्रयोग गरिरहेका छन् भने कतिपयले सस्तो एन्ड्रोइड स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

सस्तो एन्ड्रोइड स्मार्टफोनमा थोरै र्याम, कमजोर प्रोसेसर र थोरै इन्टरनल मेमोरी हुने कारणले गर्दा नै प्रयोगकर्ताले एन्ड्रोइडको राम्रो अनुभूति लिन पाएका छैनन् । यसले गर्दा पनि एन्ड्रोइडलाई ह्यांग हुने र स्लो अपरेटिंग सिस्टमका नामले चिनिएको छ र गुगलले यहि सोचलाई नै हटाउन खोजेको छ एन्ड्रोइड गोको सहायताबाट । सस्तो मूल्यमा पाइने स्मार्टफोनलाई फास्ट चल्ने बनाएर गुगलले बजेट स्मार्टफोन प्रयोगकर्तालाई पनि उच्चस्तरीय एन्ड्रोइड चलाउने अनुभूति प्रदान गर्न खोजिरहेको छ ।

एन्ड्रोइड गो बजेट स्मार्टफोनहरुलाई नै ध्यानमा राखेर बनाइएको हो । एन्ड्रोइड गो भएका स्मार्टफोनहरुमा मुख्यत: ८ जीबी इन्टरनल स्टोरेज, १ जीबी र्याम र स्लो प्रोसेसर हुने गर्दछ । यसर्थ एन्ड्रोइड गो संस्करण प्रयोग गर्ने स्मार्टफोनहरु सबै बजेट समूह मै पर्छन भने एन्ड्रोइड गो प्रयोग गरिएको फ्ल्याग्शिप स्मार्टफोन रिलिज हुने छैन र फ्ल्याग्शिपमा एन्ड्रोइड गो प्रयोग गर्नु पर्ने कुनै आवश्यकता पनि छैन ।

 

कस्ता प्रयोगकर्तालाई एन्ड्रोइड गो उपयोगी ?

अधिकांस स्मार्टफोन प्रयोगकर्ताले प्रयोग भइरहेको स्मार्टफोनको धेरै फिचरहरु प्रयोग नै गर्दैनन् । धेरैका लागि स्मार्टफोन भनेको सोसल मिडिया चलाउने, भिडियो हेर्ने र  फोटो खिच्ने चिज मात्र हो । र जसले आफ्नो स्मार्टफोनलाई धेरै प्रयोग गर्दैनन्, त्यस्ता प्रयोगकर्ताका लागि यो एन्ड्रोइड गो स्मार्टफोन निकै उन्नत हुन्छ । सस्तो मूल्यको कारणले गर्दा पनि बजेटमा स्मार्टफोन चलाउन खोज्नेका लागि यो राम्रो विकल्प हो । अहिलेसम्म फिचर फोन प्रयोग गर्दै आएकाले पनि थोरै मूल्यमा स्मार्टफोनमा स्विच गर्न सक्नेछन् । कतिपयका लागि एन्ड्रोइड गो का स्मार्टफोनहरु ब्याक अप स्मार्टफोनको रुपमा पनि प्रयोग गर्न सक्नेछन् ।

नेपालमा उपलब्ध केहि एन्ड्रोइड गो स्मार्टफोनहरु :

सामसंग जे टु कोर

सामसंगको पहिलो एन्ड्रोइड गो स्मार्टफोन हो जे टु कोर । यस स्मार्टफोनमा १ जीबी र्याम, ८ जीबी इन्टरनल स्टोरेज र क्वाड कोर प्रोसेसर राखिएको छ । अगाडि ५ इन्च को डिस्प्ले र ५ मेगापिक्सलको सेल्फी क्यामरा छ भने पछाडी ८ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ । यस स्मार्टफोनको नेपाली बजार मूल्य ११ हजार राखिएको छ ।

नोकिया २.१  

नोकियाले २.१ मा आकर्षक डिजाइन र राम्रो प्रोसेसर समावेश गरेको छ । यसमा पनि अन्य गो स्मार्टफोनमा जस्तो ८ जीबी इन्टरनल स्टोरेज र १ जीबी र्याम राखिएको छ । अगाडि ५ मेगापिक्सलको सेल्फी क्यामरा छ भने पछाडी ८ मेगापिक्सलको मुख्य क्यामरा छ । यस स्मार्टफोनको बजार मूल्य १३ हजार राखिएको छ ।

हुवावे वाई थ्री २०१८

हुवावेको पहिलो एन्ड्रोइड गो स्मार्टफोन हो हुवावे वाई थ्री २०१८ । यसमा पनि अन्य गो स्मार्टफोनमा जस्तो १ जीबी र्याम, ८ जीबी मेमोरी, ८ मेगापिक्सल मुख्य क्यामरा र ५ मेगापिक्सल सेल्फी क्यामरा राखिएको छ । यस स्मार्टफोनको नेपाली बजार मूल्य ११ हजार रहेको छ ।

 

यसमा तपाईको मत