ग्याजेट विशेष

८० करोड विन्डोज १० प्रयोगकर्ता

  नागरिक   2019-03-11

अमेरिकी सफ्टवेयर र प्रविधि कम्पनी माइक्रोसफ्टको ख्यातीप्राप्त अपरेटिंग सिस्टम विन्डोज १० को प्रयोगकर्ताको संख्या अहिले ८० करोड पुगेको छ । गत ६ महिनामा मात्र कम्पनीले १० करोडभन्दा बढी प्रयोगकर्ताहरु थप्न सफल भएको छ ।

सन् २०१७ मा भएको विल्ड कन्फेरेन्समा ५० करोडवटा कम्प्युटरमा विन्डोज १० चलेको जानकारी माइक्रोसफ्टले प्रदान गरेको थियो । त्यस समयको ६ महिना पछि मात्र नै उक्त संख्या ६० करोड पुगेको थियो ।


हाल भएको ८० करोड प्रयोगकर्ता सहित विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ । यसले केहि वर्षसम्म र अझै पनि चर्चित विन्डोज ७ लाई पछि पार्न सफल भएको छ ।

विन्डोज १० २०१५ मा रिलिज भएको थियो र माइक्रोसफ्टले सन् २०१८को अन्त्यसम्ममा १ अर्ब प्रयोगकर्ता भेटाउने लक्ष पनि राखेको थियो । तर उक्त लक्ष चाहिँ माइक्रोसफ्टले भेटाउन सकेन । माइक्रोसफ्टलाइ उक्त लक्ष भेट्नबाट टाढा पार्ने कुनै अरु प्रतिस्पर्धी थिएन - थियो त माइक्रोसफ्ट कै एक दशक पुरानो तर निकै चर्चित र रुचाइएको विन्डोज ७ ।

अहिले आएर बल्ल विन्डोज ७ पुरानो र आउटडेटेड भए लगतै प्रयोगकर्ताहरु विन्डोज १० मा स्विच गर्न लागेका छन् जसले विन्डोज १० को प्रयोगकर्ता संख्या अझै बढाउने निश्चित छ ।   माइक्रोसफ्टले अहिले २०२० सम्ममा १ अर्बवटा विन्डोज १० प्रयोगकर्ता पुर्याउने लक्ष राखेको छ ।

माइक्रोसफ्टले हाल नयाँ संस्करणको विन्डोज रिलिज नगर्ने बताएको छ । केहि वर्षको अन्तरालमा नयाँ संस्करण रिलिज गर्नुको सट्टा माइक्रोसफ्टले ६-६ महिनामा मुख्य अपडेट दिंदै आएको छ । केहि स्रोतका अनुसार विन्डोज १० नै विन्डोजको अन्तिम संस्करण मान्न सकिन्छ ।

 

 

यसमा तपाईको मत