ग्याजेट विशेष

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

  नागरिक   2018-12-30

हरेक वर्ष जस्तै यो वर्ष पनि स्मार्टफोन जगतमा थुप्रै परिवर्तनहरु आए र कतिपय परिवर्तनहरुबाट स्मार्टफोन प्रयोगकर्ताहरु निकै लाभान्वित भए । सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको छोटो सूची यहाँ दिईएको छ :

१. नचलाई सानो बनाउने दौड

गत वर्ष स्मार्टफोनको बडीमा सकेसम्म बढी डिस्प्ले राख्ने होडमा इसेन्सियल फोन कम्पनीले नच भएको पहिलो स्मार्टफोन रिलिज गरेको थियो । यस लगतै एप्पलले पनि नच भएको आइफोन  टेनमा नच राख्यो, अनि सुरु भएको नच राख्ने र नचलाई घटाउने अथवा हटाउने प्रतिस्पर्धा । डिस्प्लेको माथिल्लो भाग लगभग पुरै ढाक्ने नच देखि क्यामराको लागि मात्र बनाइएको दुलो भएको स्मार्टफोनहरु पनि बजारमा उपलब्ध भए ।

एप्पलले आफ्नो आइफोनहरुमा नचको आकार र साइज जस्ताको त्यस्तै राख्यो र केहि परिवर्तन नै गरेन । सामसंगले हालसम्म नच भएको स्मार्टफोन रिलिज नगरे पनि नचको सट्टा क्यामराको लागि सानो प्वाल भएको सामसंग ग्यालेक्सी ए८ एस नाम गरेको स्मार्टफोन भने रिलिज गर्यो । हुवावेको नयाँ स्मार्टफोन नोभा ४ मा पनि सामसंगको जस्तै क्यामराको लागि प्वाल भएको डिजाइन प्रयोग गरिएको छ । अन्य स्मार्टफोन निर्माताले चाहिँ पानीको थोपा जस्तै डिजाइन भएको नच समावेश गरिएको स्मार्टफोन रिलिज गरे ।

नचको आकार घट्दै गएपछि स्मार्टफोनमा प्रयोग गर्न मिल्ने डिस्प्लेको साइज पनि बढ्दै गएको छ । अब आउने सालमा नच विस्थापित हुने र पूर्ण रुपमा फुलस्क्रिन डिस्प्ले भएको स्मार्टफोनहरु बजारमा उपलब्ध हुने विश्वास धेरैले राखेका छन् ।


२. क्यामरा गुणस्तरमा सुधार

यो वर्ष क्यामरामा केहि मुख्य र तारिफयोग्य सुधारहरु आएका छन् । आजभोलिका स्मार्टफोन क्यामराको गुणस्तरमा आएको सुधारमा मुख्य भूमिका धेरै सेन्सरको प्रयोगले खेलेको छ । स्मार्टफोन निर्माताहरुले स्मार्टफोनमा दुईभन्दा बढी क्यामराहरु प्रयोग गर्न थालेका छन् जसले गर्दा स्मार्टफोन क्यामराले खिच्ने फोटोमा उल्लेखनीय सुधार आएको छ ।

यहि वर्ष सामसंगले चारवटा क्यामरा भएको स्मार्टफोन रिलिज गर्यो । हुवावेले पनि आफ्नो फ्ल्याग्शिप स्मार्टफोनहरुमा तीनवटासम्म क्यामराको प्रयोग गरेको छ । नोकियाले पाँचवटा क्यामरा भएको स्मार्टफोन र एलजीले १६ वटासम्म क्यामरा भएको स्मार्टफोन रिलिज गर्ने तैयारी गरेको जानकारी पनि यहि वर्ष नै पाइएको थियो ।

क्यामराको संख्यामा मात्र वृद्धि नभई गुणस्तरमा पनि उही हिसाबले वृद्धि हुँदै आएको छ । गुगलको पिक्सल ३ ले एकै क्यमराको प्रयोग गरेर पनि निकै राम्रो र उच्चस्तरीय फोटो निकाल्न सफल भएको छ । गुगल, हुवावे, एप्पल र सामसंगले आफ्नो स्मार्टफोन क्यामराको गुणस्तर सुधारका लागि एआइको पनि प्रयोग गरे ।

सन् २०१२ र २०१४ मा नोकियाले ४१ मेगापिक्सल क्यामरा भएको स्मार्टफोन रिलिज गरेको थियो । उक्त उच्च मेगापिक्सललाई टक्कर दिनलाई यो वर्षमा आएर मात्र स्मार्टफोन रिलिज गरिएको छ । हुवावेले नोभा ४ मा ४८ मेगापिक्सलको क्यामराको प्रयोग गरेको छ ।

३. ठूलो ब्याट्री, धेरै ब्याट्री लाइफ

यहि वर्ष देखि नै स्मार्टफोन निर्माताहरुले सानो स्मार्टफोनमा पनि ठूलो साइजको ब्याट्री हाल्न सुरु गरे । ठूलो ब्याट्री र अझ ब्याट्री बचत गर्ने प्रोसेसरको प्रयोग गरे कै कारणले नै यो वर्ष रिलिज गरेका स्मार्टफोनहरुमा ब्याट्री निकै धेरै टिक्न थालेको छ ।
फ्ल्याग्शिप देखि लिएर बजेट स्मार्टफोनसम्म पनि ठूलो साइजको ब्याट्री प्रयोग भएको छ । सायोमी, हुवावे, सामसंग आदि कम्पनीले पनि ४००० mAh भन्दा बढी ब्याट्री साइज भएको स्मार्टफोन रिलिज गरेका छन् । यहि वर्ष रिलिज भएको एप्पलको आइफोन टेन आर नै एप्पलले हालसम्म रिलिज गरेको आइफोन मध्येको सबैभन्दा बढी ब्याट्री टिक्ने आइफोन हो ।

४. फास्ट चार्ज प्रविधिमा फड्को

फास्ट चार्ज फिचर भएको स्मार्टफोन बजारमा आएको पनि थुप्रै समय भइसकेको छ । तर यो वर्ष नै फास्ट चार्जले अर्कै फड्को लिएको छ । गत वर्षसम्म पनि फास्ट चार्जको मुख्य खेलाडी क्वालकम र उक्त कम्पनीको क्विक चार्ज थियो । तर यो वर्ष फास्ट चार्जको जगतमा अप्पो र हुवावे चम्किएका छन् ।

यस वर्षको सबैभन्दा फास्ट चार्जर हुवावेले रिलिज गरेको थियो । उक्त चार्जर २२.५ वाटको थियो । अप्पो र वानप्लसले चाहिँ २० वाटको चार्जर सहित दोस्रो सबैभन्दा फास्ट चार्ज हुने चार्जर बजारमा उपलब्ध गराएका थिए ।
हुवावेले सिमित मात्रामा भए पनि ४० वाटको चार्जर भएको हुवावे मेट २० प्रो स्मार्टफोन रिलिज गरेको थियो । यसै गरी अप्पोले पनि “ ल्यामबोर्घिनी लिमिटेड एडिसन” स्मार्टफोनमा ५० वाटको चार्जर भएको स्मार्टफोन रिलिज गरेको छ ।

फास्ट चार्जिंगको दौडमा सबैभन्दा पछि परेको छ एप्पल । अझै पनि एप्पलले आफ्नो फ्ल्याग्शिप स्मार्टफोनमा केवल ५ वाटको चार्जर समावेश गर्ने गरेको छ ।

 

यसमा तपाईको मत