ग्याजेट विशेष

१३ मिनट मै ब्याट्री फुल चार्ज ?

  नागरिक   2019-06-23

फास्ट चर्जिंग प्रविधिको सहयोगबाट प्रयोगकर्ताले आफ्नो स्मार्टफोनको ब्याट्री निकै कम समयमा नै धेरै मात्रामा चार्ज गर्न सक्नेछन् । स्मार्टफोन र ग्याजेटको जगतमा अन्य कुराहरूमा जस्तै फास्ट चर्जिंग प्रविधिमा पनि द्रुत विकास हुँदै गएको छ । यसबाट स्मार्टफोनका ब्याट्रीहरू झन् झन् चाडो चार्ज हुन थालेका छन् ।

फास्ट चार्जिंगको दौडमा सबैभन्दा अब्बल मानिने कम्पनी भिभोले हालसम्म कै सबैभन्दा फास्ट चार्ज हुने फास्ट चार्जको प्रविधि रिलिज गर्ने भएको छ । यस प्रविधिको प्रयोगबाट ४००० mAh को ब्याट्री १३ मिनटको अन्तरालमा फुल चार्ज हुने छ । यसको अर्थ शून्य प्रतिशत चार्ज भएको स्मार्टको ब्याट्री भिभोको नयाँ प्रविधि अन्तर्गत १३ मिनटमै १०० प्रतिशतसम्म चार्ज हुन सक्ने कुराको दाबी चाइनिज कम्पनी भिभोले गरेको छ ।

भिभोले निकाल्न लागेको यस चार्जरको क्षमता १२० वाटको हुनेछ । तुलनाका लागि एउटा साधारण ल्यापटपको चार्जर पनि केवल ६५ वाटको हुने गर्दछ । अन्य स्मार्टफोनसँग तुलना गर्दा अप्पोको फास्ट चार्ज प्रविधि ५० वाटको रहेको छ भने हुवावेको फास्ट चार्ज प्रविधि ४० वाटको रहेको छ । एप्पलले भने आफ्नो नयाँ आइफोनहरूमा अझै पनि ५ वाटको चार्जर समावेश गर्दै आएको छ । यसै गरि वनप्लसले आफ्नो नयाँ वनप्लस ७ प्रोमा ४० वाटको वार्प चार्जर समावेश गरेको छ ।

अन्य कुनै पनि स्मार्टफोनको फास्ट चार्जिंग प्रविधिको तुलनामा भिभोको नयाँ फास्ट चार्जिंग प्रविधि निकै अब्बल रहेको छ । यो चार्जर गत महिना सायोमीले रिलिज गरेको १०० वाटको चार्जरभन्दा पनि फास्ट रहेको छ ।

भिभोको एक अधिकारीले चाइनिज सामाजिक संजालमा यस चार्जर प्रयोग गरेको भिडियो सार्वजनिक गरेका थिए जसमा भिभो स्मार्टफोनको ब्याट्री १० प्रतिशतबाट १४% केवल १६ सेकेन्ड मै पुग्न सफल भएको थियो ।

भिभोका अनुसार यस नयाँ चार्जरले ४००० mAh ब्याट्रीलाई १३ मिनटमा फुल चार्ज गर्न सक्नेछ । यसै गरि ५ मिनट मै यस नयाँ चार्जिंग प्रविधिको प्रयोगबाट ५० प्रतिशतसम्म चार्ज हुनेछ । तुलनाका लागि सायोमीको १०० वाटको फास्ट चार्जरले ४००० mAh ब्याट्री भएको स्मार्टफोनलाई ५०% चार्ज गर्नका लागि ७ मिनट लगाएको थियो ।

यस प्रविधि सहितको भिभोको स्मार्टफोन कहिले लन्च हुन्छ भन्ने कुरा चाहिँ निश्चित छैन ।


स्रोत : द भर्ज

 

यसमा तपाईको मत